सूर्यविनायक नगरपालिकाको बजेट २ अर्ब २६ करोड

1

भक्तपुर । सूर्यविनायक नगरपालिकाले २ अर्ब २६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको २०औँ नगरसभाको अधिवेशनमा बुधबार नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगत खर्चतर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालु खर्चतर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ छुट्याइएको छ । यसअघि मंगलबार सम्पन्न नगरसभामा नगर प्रमुख बासुदेव थापाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको थियो ।

उपप्रमुख भट्टराईले चालु आर्थिक वर्ष २०८२÷०८३ को संशोधित अनुमानअनुसार संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड तथा आन्तरिक आम्दानीसमेत गरी कुल आय २ अर्ब २८ करोड २० लाख ७६ हजार रुपैयाँ रहने जानकारी दिइन् । हालसम्म कुल संशोधित अनुमानको ५२ दशमलव ०८ प्रतिशत अर्थात् १ अर्ब ८ करोड ७२ लाख ७५ हजार १३९ रुपैयाँ खर्च भइसकेको उनले बताइन् । आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक तथा सशर्त अनुदानमार्फत ६९ करोड ३१ हजार ३१६ रुपैयाँ र प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, समपूरक, सशर्त तथा विशेष अनुदानमार्फत ५९ करोड ६० लाख ९७ हजार ७०८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै, आन्तरिक स्रोतबाट ९७ करोड ३८ लाख ७० हजार ९७५ रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिकाले आगामी बजेटका प्रमुख उद्देश्यका रूपमा गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्दै सीपमूलक तथा प्राविधिक शिक्षाको विकास, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा भरपर्दो, सुरक्षित र प्रभावकारी सूचना प्रणालीको विकास, विस्तार र उपयोगलाई अघि सारेको छ । नगरले आगामी आर्थिक वर्षका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गरेको छ । जसअन्तर्गत शहरी पूर्वाधार विस्तार, गुणस्तर सुधार तथा नगर सौन्दर्य प्रवद्र्धन, आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण र विस्तार, सामुदायिक शिक्षाको पूर्वाधार विकास तथा गुणस्तर अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिको व्यापक विस्तारमार्फत संस्थागत सुशासन प्रवद्र्धन रहेका छन् ।
त्यसैगरी, स्वास्थ्य, शिक्षा र खानेपानीलगायत सामाजिक क्षेत्रको सुदृढीकरण, उद्यमशीलता र स्वरोजगार अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक सम्भावनाको उपयोग, दिगो तथा व्यवस्थित शहरी पूर्वाधार विकास र आधुनिक सूचना प्रणालीको विकासलाई नगरपालिकाले रुपान्तरणकारी क्षेत्रका रूपमा अघि सारेको छ ।