काठमाडौंको बजारमा नक्कली मह

364

असोज २६,
काठमाडौं । महानगरको अनुगमन टोलीले गोङ्गबु मित्रनगरको एक होटलमा नक्कली मह बनाउने सामानसहित उक्त गिरोहका दुई जनालाई फेला पारेको हो । होटल रेड डाइमण्डको कोठा नम्बर ३०२, ३०४ र ३०६ गरी तीनवटा कोठामा नक्कली मह बनाउने सामान सहित उक्त गिरोहका दुई जनालाई काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । होटल सञ्चालक लीलावल्लभ पराजुलीका अनुसार उनीहरूमध्ये २० असोजमा दुई जना आएर कोठा लिएर बस्न थालेका थिए । २२ असोजमा चार जना थपिए । हिजो अर्थात् २५ असोजमा छ जना आए । उनीहरू मह व्यापारी हौँ भन्थे । कोठामा बस्थे । दिउँसो मह बेच्न जान्थे । बेलुका फर्कन्थे ।

पराजुलीकी श्रीमतीका अनुसार उनीहरू मह बेच्ने पुराना व्यापारी हुन् । यसअघि २०७६ को पुस, माघ महिनामा पनि आएर व्यापार गरेर फर्केका थिए । होटलमा उनीहरूको नाम थर भएको कुनै विवरण छैन । अनुगमन टोलीमा सहभागी कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका, मैदा र अन्य रसायन प्रयोग गरिएको छ । टोलीले थप अध्ययन गरिरहेको छ । अनुगमन टोलीले होटलका तीनवटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा ताला लगाएको छ । ती कोठामा ९ किलो १ सय ८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ फेला परेको छ ।