काठमाडौं । बागमती सभ्यता एकीकृत विकास समितिले होल्डिङ सेन्टरमा अस्थायी रूपमा आश्रय लिइरहेका सुकुमबासी तथा भूमिहीनहरूलाई ५ दिनभित्र भवन खाली गर्न अल्टिमेटम दिएको छ । हाल उपत्यकाका कुल ६ वटा होल्डिङ सेन्टरहरूमा ३८८ परिवार आश्रित छन्। अहिलेसम्म कसैले पनि राहत रकम बुझिसकेका छैनन्। राहत वितरण प्रक्रियालाई तीव्र बनाउन समितिले ३ देखि ४ वटा विशेष टोली खटाएको छ । राहत प्राप्त गर्नका लागि पीडित परिवारले आफ्नो खाता नम्बरसहितको निवेदन बुझाउनुपर्नेछ।
निवेदन संकलन र खाता नम्बर प्राप्त हुनासाथ बैंकमार्फत सोझै रकम उपलब्ध गराइने समितिले जनाएको छ । होल्डिङ सेन्टर खाली गराउन सरकारले राहत तथा पुनर्स्थापना प्याकेज अघि सारेको भन्दै अब कार्यान्वयन गर्ने समितिले जनाएको छ ।
यसअन्तर्गत होल्डिङ सेन्टरभित्र रहेका तथा बाहिर रहेका विस्थापितहरूलाई कोठा खोज्न र प्रारम्भिक बन्दोबस्त मिलाउन सरकारले प्रतिपरिवार एकमुष्ट २५ हजार रुपैयाँ पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ ।














