देशभर रेबिजविरुद्धको खोपको चरम अभाव

3

काठमाडौं । अहिले देशभरका अस्पतालहरूमा रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ । सरकारी तथ्यांकअनुसार हाल देशभर मात्र १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौज्दात छ । मौज्दात कम हुँदा अस्पतालहरूले निकै मुस्किलले खोपको व्यवस्थापन गरिरहेका छन् । खोप खरिद प्रक्रिया अहिले तेस्रो प्रयासअन्तर्गत अन्तिम चरणमा पुगेको उनको दाबी छ । व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड ९८ लाख रुपैयाँ बराबरको खोप आपूर्तिका लागि ठेक्का भइसकेको छ । २ लाख ३४ हजार भाइल ९(एमएल) र १ लाख ९० हजार भाइल ९०.५ एमएल) खोपका लागि टेन्डर भए पनि ती खोप कहिले नेपाल आइपुग्छन् भन्ने यकिन छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रेबिज सङ्क्रमित जनावरको टोकाइबाट सर्ने एक सरुवा रोग हो । यो रोग विशेषगरी रेबिज भएका जनावरको र्‍यालको माध्यमबाट सर्छ । रेबिज लागेको जनावरले घाउ चाटेमा वा च्यातिएको छाला, मुख र नाकमा र्‍याल परेमा पनि यो रोग सर्न सक्छ । विश्वमा यसलाई अझै पनि उपेक्षित रोगका रूपमा हेरिने गरिएको छ ।

टेकु अस्पतालको तथ्यांक अनुसार रेबिज खोप लगाउन आउनेमध्ये ९५ प्रतिशत कुकुरको टोकाइका कारण आउने गर्छन् । रेबिज नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण र नियमित खोप अनिवार्य छ, तर सरकारी निकायसँग देशभरका कुकुरहरूको एकीकृत तथ्यांक छैन । चन्द्रागिरि नगरपालिकाका पशुपक्षी विकास अधिकृत करनबहादुर कठायतका अनुसार त्यस पालिकामा करिब दुई हजार कुकुर रहेको अनुमान छ, तर यकिन तथ्यांक संकलन हुन सकेको छैन ।