विद्यालयले उल्टै रास्वपा सांसद पोखरेलसँग माफी माग्यो

1

काठमाडौं । ओखलढुगां खिजीदेम्बा गाँउपालिका- रगनीमा रहेको श्री चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीले माफी मागेका छन् । रास्वपा सांसद विश्वराज पोखरेलबाट प्रधानाध्यापक सन्तबहादुर मगरले थर्काइ भेटेका थिए । विद्यालयका प्रअ मगर र विव्यस अध्यक्ष बुढाथोकीले मंगलबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलसँग माफी मागेका हुन् ।

१० वैशाखमा सांसद पोखरेलले आफूलाई गेटमा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापक सन्तबहादुर मगरलाई थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियो भाइरल भएपछि सांसद पोखरेलको चौतर्फी आलोचना भएको थियो । आलोचना बढेपछि सांसद पोखरेलले प्रअसँग माफी समेत मागेका थिए ।

यो बीचमा यस विषयबारे विद्यालयले कुनै औपचारिक धारणा सार्वजनिक गरेको थिएन । तर एकाएक आज विज्ञप्ति जारी गर्दै विद्यालयले उक्त घटनाले सांसद पोखरेलको मानमर्यादामा पर्न गएको आघातप्रति पुनः क्षमायाचना मागेको हो । सांसद पोखरेल विद्यालय आइपुग्दा प्रअ मगर विद्यालयका मागपत्र तयार गर्न व्यस्त रहेको प्रअ मगर र विव्यस अध्यक्ष बुढाथोकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।