एमालेमा विशेष महाधिवेशन अभियानः हस्ताक्षर कसले गर्न पाउँछ ?

4

काठमाडौं । नेकपा एमालेको पार्टी विधान–२०४९ को धारा ७३ मा दुई तिहाइ जिल्ला कमिटी अथवा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम विशेष महाधिवेशन माग गर्न हस्ताक्षर अभियान सुरु भएको छ । विशेष महाधिवेशन माग गर्न तयार पारिएको निवेदनपत्रमा निर्वाचनको पराजयलाई कारण देखाइएको छ ।

‘संसदीय राजनीतिमा २०४८ सालदेखि २०८२ सम्म आइपुग्दा सबैभन्दा कमजोर निर्वाचन परिणाम प्रत्यक्षमा १६५ सिटमा ९ सिट (५.४५ प्रतिशत) र समानुपातिकमा १३.४३ प्रतिशत मात्र मत प्राप्त गर्न सक्नु नेकपा एमालेको अहिलेको समग्र कमिटी प्रणाली र नेतृत्वप्रति नै जनताले अविश्वास गरेको अवस्था हो,’ निवेदनमा भनिएको छ, ‘राजधानी रहेको काठमाडौं उपत्यकामा १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा नेकपा एमालेको उम्मेदवारको जमानत जफत हुनुले गम्भीर परिस्थिति सिर्जना भएको अवस्थाको उजागर गर्छ ।’
प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेको नेकपा एमालेमा नेताहरूले नेतृत्व परिवर्तनको दबाब बढाएका छन् । सामाजिक सञ्जाल र सार्वजनिक फोरमहरू मार्फत उनीहरूले पार्टी पुनर्गठनबारे अभिव्यक्ति दिइरहदा, सँगसँगै विशेष महाधिवेशन माग गर्ने अभियान पनि चलेको खुलेको छ ।