एक जवान छन्, धर्म । यद्यपि यस्तो लाग्छ, उनमा जवानीको कुनै रसरंग छैन । एउटा कोलनीको उराठलाग्दो कोठामा बस्छन् । च्यातिएका पुरानो सोफा, बिग्रिएको धारो, थोत्रो सानो टिभी । अनि यत्रतत्र छरपस्ट सरसामन यदि त्यहाँ यी जवानले डेरा नजमाएको हुँदो हो त त्यो ‘भूत बंगला’ जस्तै देखिन्थ्यो । हो, धर्म त्यही बस्छन् ।‘कवाडी बुलेट’मा चढेर कारखानामा जानु । दिनभर काममा मग्न हुनु । साँझ उसैगरी कोठा फर्कनु । चुरोटको धुँवा उडाउँदै वियर घुट्क्याउनु । टिभीमा चार्ली च्याप्लिनको भिडियो हेर्नु । वस्, उनको जीवन यत्ति हो ।सधै एकनास, सधै एकलास, सधै एकलाप ।
नितान्त एक्लो । उनी समाज, साथीभाई, छिमेक कसैसँग घुलमिल छैनन् । छ्या, कति पट्यारलाग्दो मान्छे ! धर्मलाई घृणा गर्नुअघि उनको अतिततर्फ फर्कौं । उनको परिवार थियो । आमा बुवा थियो । सानी प्यारी बहिनी थिई । तर, गाडी दुर्घटनामा उनीहरुको ज्यान गयो । अन्ततः धर्म एक्लिए । परिवार वियोगले विछिप्त उनी एकलकाँटे भए । अब उनको जीवनमा खुसीको इन्द्रेणी छैन । त्यो पूर्णतय श्यामश्वेत छ । न खुसी, न उत्साह, न उमंग । चार्ली च्याप्लिनको फिल्म हेरिहँदा पनि उनको ओंठमा हाँसो छाउँदैन । यस्तो एकलकाँटे मान्छेकहाँ कुनै बेवारिसे कुकुर पाहुना लाग्न आइपुग्छ भने अब स्थिती के होला ?धर्मको जस्तै कथा छ, यो वेनाम र वेवारिसे कुकुरको पनि । ल्याब्राडोर जातको उक्त कुकुरलाई कसैले सडकमा ल्याइदिएका छन् । ऊ दिनभर सडकमा भौतारिन्छ । के खाने, कहाँ बस्ने, कसरी बाँच्ने ? उसँग खास जुक्ति पनि छैन ।
शहरको भीडमा ऊ एक्लो छ, धर्मजस्तै । भोको पेट, भयग्रस्त मन । एउटा निमुखा प्राणीका लागि यो संसार कति निष्ठूरी ! जाबो एउटा लिखुरे ज्यानलाई सुविस्ताले राख्ने ठाउँ छैन । त्यसैले ऊ फोहोरको थुप्रो उधिन्दै, मान्छेले खाएर बँचेखुचेका खानेकुरा खाँदै लखरखर हिँडिरहेको छ । लखरलखर हिंडिरहेकै बखत कसैको मोटरसाइकलले उसलाई ठक्कर दिन्छ । वेतोडले हुँइकिएको मोटरसाइकलको तोडले ऊ सडकमा बजारिन्छ । शरीर रगतपच्छे हुन्छ । उसलाई कति दुख्यो होला ? संवेदना हराएको शहरमा कसैलाई चासो छैन । चासो छ त, उही ठक्कर दिने पुरुषप्रति । उनलाई पो केही भयो कि ? कतै चोट पटक लाग्यो कि ? मोटरसाइकल बिग्रियो कि ?
मान्छेहरु भनिरहेका छन्, ‘कस्तो असत्ती कुकुर, जथाभावी दौडिएर यसरी दुर्घटना गराइरहेको छ !’दुई घाइतेको मिलाप धर्मलाई कुकुरप्रति कुनै मोह छैन । तर, आफ्नै आँखा अगाडि असह्य चोटले छटपटिएको बेवारिसे कुकुर देखेपछि ऊ त्यसलाई छाडेर जान सक्दैनन् । सायद उसलाई लागेको हुँदो हो, यो पनि म जस्तै घाइते छ । ऊ कुकुरलाई लिएर पशु चिकित्सककहाँ पुग्छन् । औषधिमूलो गराउँछन् । तर, यत्तिमै उनको दशा टर्नेवाला छ र ?
उपचाररत कुकुरलाई कसले जिम्मा लिने ? कसले राख्ने ? कसले स्याहारसुसार गर्ने ? पशु चिकित्सक भन्छन्, ‘यो कुकुरलाई तिमीले त्यसबेलासम्म पाल्नुपर्नेछ, जबसम्म यसलाई अरु कसैले लिदैनन् ।’ अन्ततः बाध्यताको भूँमरीमा फँसेर धर्मले कुकुरलाई आफ्नो साथमा राख्छन् । एकलापमा हराइरहने धर्मलाई कुकुरको आगमन ‘घाँडो’ लाग्छ । कुकुरले उनलाई आरमसाथ बस्न दिने पनि होइन । थोत्रो सोफामा वेपर्वाह ढल्केर चुरोटको धुँवा उडाउँदै, वियरको चुस्की लिदै, चार्लि च्याप्लिनको भिडियो हेर्ने पाउँछन् र ?कहिले कुकुरले थाल-बटुका चाट्छ, कहिले जतनसाथ राखिएको सामान भताभुंग पारिदिन्छ । कहिले वेपत्तासँग भुक्छ । जबकि त्यस कोलनीमा ‘कुकुर पाल्न मनाही छ ।’
आखिर कुकुरकै कारण धर्मको दैनिकी फेरिन थाल्छ । अब उनी ढुक्कले मौन बस्न पाउने छैनन् । कुकुरको लागि उसले खेल्नुपर्नेछ, बोल्नुपर्नेछ । दिसापिसाब सोहर्नुपर्नेछ, पार्कमा डुलाउनुपर्नेछ । धर्मले यो कुुकुरलाई आफ्नो जीवनबाट पन्छाउन अनेक प्रपञ्च नरचेका होइनन्, तर ‘अभागीको’ दशा कहाँ सजिलै टर्छ र ?अवोध नाता, अव्यक्त स्नेह रहँदा बस्दा धर्मलाई पनि कुकुरप्रतिको वितृष्ण कम हुँदै जान्छ । आखिर एक्लो ज्यानले साथी त भेटेको छ, पशु नै भएपनि । दुबै आपसमा रमाउन थालेका छन् । यद्यपि धर्मले यो कुकुरलाई कुनै कुकुरप्रेमीलाई जिम्मा लगाउने प्रक्रिया पनि जारी राखेका छन् ।
तर, एकदिन अचानक धर्म भुँइमा बजारिन्छन् । बेहोस हुन्छन् । आफ्नो प्रिय मान्छेको यस्तो हाल देखेर कुकुर अत्तालिन्छ । संयोग भनौं, उद्वारकर्ताहरु आएर धर्मलाई अस्पताल पुर्याउँछन् । सामान्य उपचारपछि उनको होस खुल्छ ।जसै होश खुल्छ, उनले देख्छ ढोका बाहिर कुकुर छ । यो कुकुर कसरी यहाँसम्म आइपुग्यो ?‘एम्बुलेन्सलाई पच्छ्याउँदै’ कसैले भनिदिन्छन् । यतिबेला धर्मले कुकुरको अनुहारमा हेर्छ, त्यो कति निश्च्छल र दयालु छ । कति अवोध र स्नेहवती छ । धर्मको आँखा टिलपिल हुन्छ । आफ्नो परिवार गुमाएपछि उनको जीवनमा यस्तो कोही आएका थिएनन्, जसले उनको ख्याल राखिदियोस् । अब ऊ कुकुरलाई यति प्रेम गर्छ कि, मानौ त्यो उनको सबैभन्दा प्रिय पात्र हुन् ।












