काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको हो । पीडितले हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले बतायो । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो ।
त्यसपछि अदालतले भदौ ९ गते नै महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार ब्यूरोमा उपस्थित भएका महरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका थिए ।














