राष्ट्रिय चलचित्र पुरस्कारमा असन्तुष्टिका स्वरहरु

17

काठमाडौं । राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट वितरण गरिएको राष्ट्रिय चलचित्र पुरस्कारलाई लिएर पनि असन्तुष्टिका स्वरहरु सुनिएका छन् । केही विधामा बाँधिएको अवार्ड आफू नजिकका व्यक्तिलाई खुसी पार्न दिइएको आरोप समेत लागेको छ । राष्ट्रिय अवार्डमा अभिनेता प्रदीप खड्कालाई प्रदान गरिएको निर्णायक समिति प्रोत्साहन पुरस्कारलाई लिएर फिल्मकर्मीहरु बढी असन्तुष्ट देखिएका छन् । अभिनेत्री वर्षा सिवाकोटीले त फेसबुकमा स्टाटस लेखेर उक्त विधामा पुरुष कलाकारलाई सम्मान गरिएकोमा आपत्ति नै जनाएकी छन् । अन्य केही फिल्मकर्मीले पनि घुमाउरो रूपमा प्रदीपले पाएको अवार्डप्रति प्रश्न गरेका छन् ।

प्रदीपलाई दिइएको अवार्डमा फिल्मकर्मीहरु सन्तुष्ट नहुनु एक हिसाबले स्वभाविक पनि देखिन्छ । किनकि, प्रोत्साहन पुरस्कारमा विशेषगरी नयाँ कलाकार बढी हकदार हुन्छन् । अघिल्लो वर्ष यही विधामा फिल्म ‘टुल्की’की अभिनेत्री स्वस्तिमा कार्कीलाई अवार्ड प्रदान गरिएको थियो । उनले यही फिल्मबाट डेब्यु गरेकी थिइन् । यसैले त्यसबेला उनले पाएको अवार्डलाई लिएर कुनै प्रश्न उठेन । तर, प्रदीपले फिल्म क्षेत्रमा एक दशक विताइसकेका छन् । र, १३ वटा फिल्ममा काम गरिसकेका छन् । उनीपछि फिल्म क्षेत्रमा अर्को पुस्ता समेत आइसकेको अवस्थामा उनलाई प्रोत्साहन पुरस्कार दिनु उचित नरहेको कतिपयको तर्क छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँगको आत्मीय सम्बन्धका कारण प्रदीपलाई सो अवार्ड दिइएको हुनसक्ने गाइँगुइँ पनि चलिरहेको छ ।
धेरैलाई लागेको थियो, यस वर्षको प्रोत्साहन पुरस्कार फिल्म ‘१२ गाउँ’बाट समीर भट्ट वा ‘बोक्सीको घर’बाट बाल कलाकार सुपला सापकोटामध्ये एकले पाउन सक्नेछन् । किनकि, दुवैले डेब्यु फिल्मबाट राम्रो प्रभाव छाडेका थिए । तर, उनीहरु कुनै विधामा समेटिएनन् । सामाजिक कथामा बनेर ‘ब्लकबस्टर’ भएको ‘बोक्सीको घर’ पुरस्कृत नभएकोमा पनि धेरैले असन्तुष्टि जनाएका छन् । -filmykhabar