हुम्लाको हल्जीमा यस्तो अनौठो नियम, बिहान उठेर खेतबारीको काम गर्न पाइँदैन !

41

हुम्ला । नाम्खा गाउँपालिका-६ मा पर्ने हल्जीमा ९० घरधुरी बसोबास गर्छन् । तिब्बत सीमासँग जोडिएको यो गाउँमा स्थानीयलाई नियममा बाँध्न एक जना स्थानीयको अध्यक्षतामा तीन सदस्यीय कमिटी नै बनाइएको छ । कमिटीका अध्यक्षले स्थानीयवासीलाई काममा खटिन आदेश गर्छन् । स्थानीयलाई काम गर्ने समय बिहान ६ बजेदेखि ११ बजेसम्म तोकिएको छ । बिहान ६ बजेभन्दा अगाडि उठेर खेतबारीको कामसमेत गर्न पाइँदैन । समय मिचेर काम गरेमा जरिवाना तिराइन्छ ।

५ घन्टाभित्रै काम सक्नुपर्ने भएकोले बाली भित्र्याउने बेलामा गाउँलेलाई भ्याइनभ्याइ हुन्छ । समय अभावमा उवा, जौ जस्ता बाली लगाउने र भित्र्याउने बेलामा निकै सास्ती हुने स्थानीय बताउँछन् । तोकिएको समयभित्र बाली भित्र्याउने चटारोका कारण बाहिरबाट आएका पाहुनासँग बोल्ने फुर्सद समेत नहुने उनीहरुको गुनासो छ । आफ्नै काम गर्न पनि स्थानीयलाई किन यसरी नियममा बाँधियो त रु नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जोर तामाङ दिनभर काम गरेपछि थकाई लाग्ने भएकोले स्थानीयको स्वास्थ्यको ख्याल गर्दै यस्तो नियम लागू गरिएको बताउँछन् । उनी भन्छन्, ‘बिहान ५ घन्टा काम गरेपछि दिउँसो घरमा आरामले बस्न पाउन् भनेर यस्तो नियम लागू गरिएको हो । शरीरले आराम पनि त खोज्न नि ।’

वडाका जनप्रतिनिधिलाई सघाएर नियम लागू गराउन तीन जनाको छुट्टै कमिटी बनाइएको वडाध्यक्ष तामाङले जानकारी दिए । कमिटीमा पाल्जोर तामाङ, मिङमार तामाङ र पासापो तामाङ छन् । अन्नबाली भित्र्याउने र खर्क चरिचरणका विषयमा चैत महिनाको अन्तिम वा वैशाख महिनाको पहिलो हप्ता कमिटीको बैठक हुने गरेको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
घाँस काट्ने, अन्नबाली लगाउने तथा भित्र्याउने समयमा यो कमिटीको भूमिका रहने वडाध्यक्ष तामाङले बताए । ‘बिहानै कोही पनि काममा निस्किन पाउँदैन । छिटो खेतबारीमा पुग्नेलाई कार्बाही हुन्छ । बरु ढिला गए केही हुँदैन,’ वडाध्यक्ष तामाङले भने ।

तिल गाउँमा ४२ घरधुरीमध्ये अब १८ घरधुरी मात्र गाउँमा बस्छन् । हल्जी गाउँमा ८० घरधुरीमध्ये २ घरधुरी बाहिर छन् । जाँङमा ६३ घरधुरीबाट २ घर मात्रै गाउँमा छन् । अरुले गाउँ छोडिसकेका छन् । लिमीकै जाङ र तिल गाउँमा भने यो नियम लागू गरिएको छैन । जाङमा रात(बिहान जतिबेला पनि काम गर्न पाइने स्थानीय सुङडुप तामाङले बताए । -अनलाइन खबरबाट