Wednesday, September 23, 2026
Home राजनीति एकता भए बहुमत प्राप्त गर्न सकिन्छ: सभापति देउवा

एकता भए बहुमत प्राप्त गर्न सकिन्छ: सभापति देउवा

14

गण्डकी । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रूपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले विद्यमान समावेशी एवं समानुपातिक राजनीतिक प्रणालीका कारण एउटा पार्टीको बहुमत आउन गाह्रो भए पनि एकताबद्ध प्रयास भएमा कांग्रेसले बहुमत ल्याउने बताए।

‘अहिले हामीले समावेशी एवं समानुपातिक राजनीतिक प्रणाली अवलम्बन गरेका छौँ, यसबाट कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ’, उनले भने, ‘तैपनि हामीले सबैभन्दा ठूलो पार्टी बनाउन सफल भएका छौँ । अझ पार्टीका सबै साथीहरूबीच हार्दिक एकता भयो भने भोलिका दिनमा कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ ।’ उनले संवैधानिक व्यवस्थासहित राज्य सञ्चालनमा मुलुकका सबै जातजाति, भाषा, समुदाय र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरेको धारणा व्यक्त गरे।