बेलायती रक्षामन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

151

फागुन १,
काठमाडौं । बेलायतका रक्षामन्त्री मार्क ल्यान्क्यास्टरले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन्। प्रचण्ड निवास खुमलटारमा मंगलबार बिहान भएको भेटमा रक्षामन्त्री मार्कलेले अध्यक्ष प्रचण्डसँग निर्वाचन सम्पन्न भएपछिको नेपालको पछिल्लो राजनीतिक परिस्थिति, पार्टी एकता, सुशासन र विकासलगायतका विषयमा जिज्ञासा राखेका थिए। रक्षामन्त्री मार्कले नेपालको संविधानले राज्यसंयन्त्रमा महिलाहरुको प्रतिनिधित्वको व्यवस्था गरेपनि त्यसको कार्यान्वयनको पक्षबारे समेत अध्यक्षसँग छलफल गरे रक्षामन्त्री मार्कका जिज्ञासबारे प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नेपाली जनताको राजनीतिक स्थिरता र समृद्धिको चाहनाको सम्मान गर्दै नेकपा एमालेसँगको एकताको प्रक्रिया अघि बढाइएको बताए। पार्टी एकताका लागि एकता संयोजन समिति गठन भएर एकता प्रक्रिया अघि बढेको र यो एकताले स्थायित्व, स्थिरता र नेपालको समग्र विकासमा ठूलो भूमिका खेल्ने बताए। प्रचण्डले नेपालको संविधानले व्यवस्था गरे अनुरुप स्थानीय तह, प्रदेश र संघको निर्वाचनपछि सबै राजनीतिक तहमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको समेत बताए। स्थायित्व र राजनीतिक स्थिरता भए सुशासनको प्रत्याभूति हुने बताउँदै अध्यक्ष प्रचण्डले बेलायती सरकारले नेपालको शान्ति प्रक्रिया, सुशासन र विकासका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि बेलायती सरकार र जनतालाई धन्यवाद दिए। भेटका अवसरमा अध्यक्ष प्रचण्डले बेलायती सेनामा रहेका गोर्खा सैनिकहरुको समस्याबारे समेत जिज्ञासा राखेको प्रचण्डको निजी सचिवालयले बताएको छ। रक्षामन्त्री मार्कले बेलायती सेनामा रहेका गोर्खाहरुको समस्याबारे बेलायत सरकार गम्भीर रहेको बताएको छ।