राजतन्त्रको पक्षमा यसरी मान्छे बेशरम उफ्रिएको मैले देखेको थिइनँ : प्रधानमन्त्री ओली

11

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई गणतान्त्रिक देश रहन नदिने प्रयास भइरहेको बताएका छन्। नेपाललाई गणतान्त्रिक देश रहन नदिने, शान्ति सुव्यवस्था‚ ल एण्ड अडर कायम रहन नदिने र विकास र समृद्धिको बाटोमा अघि बढ्न नदिने प्रयास भइरहेको प्रधानमन्त्री ओलीको दावी थियो। नेकपा (एमाले)ले शनिवार काठमाडौंमा आयोजना गरेको स्थानीय तहमा जनसंगठन सुदृढीकरण कार्यशाला गोष्ठीमा बोल्दै उनले राजतन्त्रको पक्षमा यसरी मान्छे उफ्रिएको यसअघि आफूले नदेखेको अनुभूति पनि सुनाए। राजतन्त्र हुँदा केही पदधारी पञ्च कराउने गरे पनि अहिले आशाधारीले राजतन्त्रको पक्षमा बोलिरहेको बताए। प्रधानमन्त्री ओलीले उनीहरूले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउने काममा अवरोध खडा गरेको बताए। उनले कुनै पनि सत्य र तथ्यको बाटोमा नहिँडेकाहरूले मुलुकमा भ्रम छर्ने प्रयास गरिरहेकाले त्यसलाई चिरेर अघि बढ्नुपर्ने कुरामा सरकार सचेत रहेको बताए।​

प्रधानमन्त्री ओलीले भने, ‘सामन्ती, निरंकुश, अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेशरम उफ्रिएको मैले देखेको थिइनँ। राजतन्त्र हुँदाखेरी पनि केही पञ्च जम्मा हुन्थे र कराउँथे। पञ्चायतका बेला राजतन्त्र हुँदा पदधारीहरु कराउँथे। अहिले पदधारी होइन। वर्तमानमा केही पाएकाहरू होइन कि आशाधारीहरू कराइराखेका छन्। त्यसो भएर नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति सुव्यवस्था, ल एण्ड अडर कायम रहन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयास भइरहेका छन्।’प्रधानमन्त्री ओलीले देशलाई अघि बढ्न नदिनेबाट सजग भएर अघि बढ्नुपर्ने अवस्था रहेको पनि बताए।