काठमाडौँ । चिकित्सा शिक्षा पढ्न विदेश जाने विद्यार्थीलाई अध्ययन अनुमतिपत्र दिन कडाइ गरिएको छ । चिकित्सा शिक्षा आयोगले विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई आयोगबाट अध्ययन अनुमतिपत्र लिएर मात्र अन्य प्रक्रिया सुरु गर्न सूचित गरेको छ ।
नेपालबाट अन्य मुलुकमा चिकित्सा शिक्षा अध्ययन गर्नका लागि आयोगले दिने एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने कानुनी प्रावधान छ । सोही आधारमा आयोगले अध्ययन अनुमतिपत्र (ईलिजिबिलिटी लेटर) दिनेछ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १६ ले विदेश पढ्न जाने विद्यार्थीले आयोगले सञ्चालन गरेको प्रवेश परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरेको छ, भने राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको नियम २७ मा विदेशमा अध्ययन गर्न जाने नेपाली नागरिकलाई अध्ययन अनुमतिपत्र (ईलिजिबिलिटी लेटर) दिने अधिकार आयोगलाई दिएको छ ।
आयोगले अनुमतिपत्र दिएपछि मात्रै स्टेटमेन्ट अफ नीड, नो अब्जेक्सन लेटर, गुड स्ट्याण्डिङ सर्टिफिकेट जस्ता सिफारिस पत्र लिन सबैलाई आयोगले अनुरोध गरेको छ ।













