काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडक खण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ। सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्य विनायक-धुलिखेल सडक खण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल खण्डको ठेक्का सम्झौता भएको हो।
कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडक खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीका अनुसार ठेक्का रकम चार अर्ब पाँच करोड ६४ लाख रहेको छ।
दोस्रो चरणमा निर्माण गरिने सूर्य विनायक–साँगा सडक खण्ड भने सात दशमलव पाँच किमी रहेको छ। उक्त खण्डको ठेक्का तीन अर्ब ८८ करोड ९३ लाखमा हालै सम्झौता भइसकेको विभागले जनाएको छ। यी दुवै सडक खण्डको काम ठेक्का सम्झौताको ३६ महिनाभित्र सक्नुपर्ने अधिकारीले बताए।
साँघुरो सडकका कारण बर्सेनी ट्राफिक जाम बढ्दै गएपछि सो सडक खण्ड विस्तार गर्न लागिएको हो। यसका लागि आयोजनाले गत कात्तिकमा प्रस्तावित सडक विस्तार गर्न ठेक्का आह्वान गरेको थियो। उक्त सडक खण्ड विस्तारका लागि सूर्य विनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो।














