काठमाडौं । कञ्चनपुरमा एक १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । जिल्लाको बेलौरी नगरपालिका– ८ कलकत्ताकी ती बालिकाले माघ ४ गते घरमै छोरा जन्माएकी हुन् । नाबालिगले बच्चा जन्माएपछि प्रहरीले घरमै गएर छानबिन थालेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।
शिशु भारतीय नागरिक दयाराम गुप्ताको रहेको परिवारका सदस्य तथा बालिकाले प्रहरीलाई बयान दिएका छन् । प्रहरीले उनीहरूको बयानका आधारमा भारतको बरेलीमा बस्दै आएका गुप्ताविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको छ ।प्रहरीका अनुसार गुप्ता नाताले ति बालिकाको भिनाजु पर्छन् । प्रेम सम्बन्ध गाँसेर विवाहको लागि भन्दै भारत लैजाँदै गर्दा केहि समयअघि सीमामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
वैशाख १८ गते इलाका प्रहरी कार्यालयमै गुप्तासँग विवाहको लागि भारत जाँदै गरेको परिवारका सदस्यहरूले बयान दिएपछि १९ गते परिवारको जिम्मा लगाइएको थियो । ति बालिका र गुप्ताबीच सहमतिमै सम्बन्ध भएर बच्चा जन्मिएको भएपनि नाबालिग भएका कारण गुप्ताविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । दृष्टि, drishtinews