Thursday, October 29, 2026
Home समाचार १४ वर्षीया बालिकाले जन्माइन् शिशु

१४ वर्षीया बालिकाले जन्माइन् शिशु

83
सांकेतिक तस्विर

धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए ।

‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो स्कुल पठाउने काम गरिरहेका रहेछन्,’ उपप्रमुख चौधरीले भने, ‘गाउँमा बुहारीको बच्चा हो भनेर देखाउन खोजे पनि स्थानीयले बालिकाले अवैध रुपमा शिशु जन्माएको थाहा पाएपछि घटना सार्वजनिक भएको हो ।’

इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताए । प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन् ।

अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् । बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।