मदिरा उत्पादन गर्न वडाको अनुमति लिनुपर्ने

78

गोरखा । सहिद लखन गाउँपालिकाले धार्मिक संस्कारका लागि घरेलु मदिरा उत्पादन गर्न वडा कार्यालयको अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ ।

मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमनसम्बन्धी प्रावधानलाई व्यवस्थित गर्दै वडास्तरीय मदिरा व्यवस्थापन समितिबाट अनुमति लिएर मात्र तोकिएको प्रयोजनका लागि उत्पादन गर्न पाउने व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । हालै सम्पन्न १२ औं गाउँसभाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ पारित गरेको हो । विधेयकमा मदिरा उत्पादन र उपभोगको पनि अनुमति लिनुपर्ने व्यवस्था छ ।

गाउँपालिकाभित्र विभिन्न धर्म, जाति र सम्प्रदायका मानिसको बसोबास रहेकाले जातीय परम्परा अनुसारको संस्कारलाई मध्यनजर गरी स्थानीयस्तरमा मदिरा उत्पादनलाई व्यवस्थित गर्न खोजिएको मगरले बताए । उनका अनुसार मदिरा नियन्त्रण, व्यवस्थापन तथा नियमनका लागि टोल विकास संस्थाका अध्यक्षको नेतृत्वमा टोल समिति, वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय मदिरा व्यवस्थापन समिति तथा गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल समिति रहने व्यवस्था गरिएको छ ।

परम्परागत संस्कारका लागि मदिरा उत्पादन गर्नुपर्ने भए कारणसहित सम्बन्धित वडास्तरीय समितिमा निवेदन पेश गर्नुपर्नेछ । निवेदन दिँदा प्रयोजन र परिमाण पनि खुलाउनुपर्नेछ । ‘२०७७ को ऐनमा नभएका विषय थप गरेर मदिरा उत्पादनलाई व्यवस्थित गर्न लागेका हौँ,’ उनले भने ।