नेपाल पुलिसको जित

29

काठमाडौँ । सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डाइमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमन्डलाई ३-२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस जितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो । प्रतियोगितामा न्यु डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

खेलमा पहिलो सेट २५-२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२-२५ ले गुमायो । त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५-१४ ले जित्यो भने खेलको चौँथो सेट न्यु डामण्डले आफ्नो पक्षमा पार्‍यो । न्यु डायमण्डले २५-२३ ले जित्यो । त्यसै गरी खेलको पाँचौँ तथा अन्तिम सेट पुलिसले १५-१० ले जित्यो ।

यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको एपिएफ कृष्ण एकेडेमी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २५-४ ले हरायो भने खेलको दोस्रो सेट २५-४ ले पाखा लगायो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपिएफले २५-३ ले आफ्नो पक्षमा पार्‍यो ।