झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनदेखि गृहजिल्ला झापाका विभिन्न कार्यक्रमहरूमा व्यस्त छन् ।
झापाको क्षेत्र नं ५ बाट एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका ओली अहिले उनकै क्षेत्रमा आयोजित चुनाव प्रचार कार्यक्रमहरूमा व्यस्त छन् ।
केही दिन अघि काठमाडौँबाट झापा ओर्लनसाथ झापाको क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागिदिन भद्रपुरमा आयोजित राप्रपा र एमालेद्वारा आयोजित संयुक्त अगुवा कार्यकर्ता भेला कार्यक्रममा उपस्थित भएका थिए ।
राप्रपा र एमालेको संयुक्त कार्यकर्ता भेलामा चुनावपछिका योजना नेताले सुनाउलान् भन्ने धेरैले आश गरेका थिए । उक्त कार्यक्रममा न ओलीले नै भावी योजना सुनाए न लिङ्देनले ।
ओलीको भाषणको अधिकांश समय त गठबन्धनका शीर्ष नेतालाई गाली गर्दै बित्यो । उनले कार्यक्रममा भनेका थिए, ‘सुन्दै कस्तो-कस्तो लाग्ने गठबन्धन ।’
त्यतिमात्र होइन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ओली उछित्तो काढे । उनले भनेका थिए, ‘एकतिर छिमेकी देशको प्रधानमन्त्री बसेका छन्, अर्कोतिर हाम्रा प्रधानमन्त्री उङ्दै बसेका छन् ।’
ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका बेलाको कुरा उठाएका थिए ।
केही समय अघिसम्म जनता समाजवादी पार्टी तथा उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘देखिनसहने’ ओलीले भद्रपुरमा जसपा अब पनि राष्ट्रिय पार्टी कायम रहने बताएका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि एक समय उनले ‘हिँड्न नजान्ने गाईको बाछो’को संज्ञा दिएका थिए ।
ओलीको नजिक जो जान्छ उ ओलीका लागि प्रशंसनीय बन्ने उनकै स्वभावले देखाइसकेको छ । उनकै पार्टीबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई उनले हरेक कार्यक्रममा उछित्तो काढ्ने गरेका छन् ।