Wednesday, September 23, 2026
Home अर्थ भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट

भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट

59

काठमाडौं । दशैं आउन २० दिन बाँकी रहँदा राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने व्यवस्था मिलाइरहेको छ।
बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन्। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।
सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एकरएक बण्डल नयाँ नोट पाउने भएका हुन्। बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्।

दशैंको लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। गत वर्ष दशैंमा सात अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा सटही भएको थियो। पछिल्लो समय डिजीटल्ली रकम ट्रान्सफर गर्न सकिने भएसँगै कतिपयले दशैंमा समेत यो प्रणालीको प्रयोग बढाउन जोड दिनुपर्ने बताइरहेका छन्। बैंकिङ प्रणालीबाट पैसा बाहिरिएको करिब पाँच वर्षमा पुराना भएर फर्किने गरेको राष्ट्र बैंकको अनुमान छ।
चलनचल्तिमा रहेका पाँच रुपैयाँ र १० रुपैयाँको नोट धेरै चाडो पुरानो हुने गरेको छ। यस्ता नोटको आयु लगभग तीन वर्षको मात्रै हुनेगर्छ।

राष्ट्र बैंकले हाल एक र दुई रुपैयाँका नोट निष्कासन गर्न छाडेको छ। पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्ममा साना दरका नोटलाई सटहीमा प्रयोग गरिरहेको छ। कम खपत हुने पाँच सय र एक हजार दरका नोटको आयु भने सरदर पाँच वर्ष रहने गरेको छ। हाल पाँच सय मुनिका नोट छाप्न प्रतिनोट दुई रुपैयाँ र बाँकीलाई प्रतिनोट तीन रुपैयाँ ३७ पैसासम्म लाग्ने गरेको छ। औसतमा सबै खाले मुद्रा छाप्न दुई रुपैयाँ ५० पैसा लाग्छ।