काठमाडाैँ । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग लिएकाे आइतबार (आज)काे बयान सकिएकाे छ।
आज बिहान ११ बजेदेखि समितिको आन्तरिक बैठक बसेको छ। मध्यान्ह १२ बजेपछि बैठकमा पुगेका प्रधानन्यायाधीश जबरामाथि साेधपुछ सुरु गरिएकाे हो।
जम्मा ४३ वटा प्रश्न तयार पारेको समितिले जबरासँग आजसम्म ११ वटा प्रश्न सोधेको छ। अब बाँकी रहेका ३२ वटा प्रश्न २६ गते ११ बजे बस्ने बैठकमा साेध्ने तयारी रहेकाे स्राेतले जनाएकाे छ।
स्राेतका अनुसार अबका बैठकमा दाेहाेराे शैलीमा नसाेध्ने तयारी भएकाे छ। हालसम्म उनलाई प्रश्न साेध्ने र आएकाे जवाफमा पुन:प्रतिप्रश्न गर्दै आएकाे भएपनि अब भने त्यसाे नगरिने भएका हाे। एकैपटक प्रश्न दिने र उनले बाेलेपछि अन्तिममा सांसदले प्रश्न साेध्ने अबकाे तयारी रहेकाे छ।
आजकाे बैठकमा उनले सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन काेइरालालाई सजाय छुट गराउन गरेकाे फैसलामा क्षमायाचना गरेका छन्। आफ्नै श्रीमती गीता ढकालकाे हत्या अभियाेगमा २० वर्ष जेल सजाय सुनाइएका पूर्वडिआइजी काेइरालाको फैसलामा गल्ती भएको भन्दै उनले माफी मागेका हुन्।














