भोलिदेखि विवेकशील साझाको महाधिवेशन

33

काठमाडौँ । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ।

अध्यक्षमा को–को छन् दाबेदार ?
विवेकशील साझा पार्टीको अध्यक्ष पदका लागि तीन जना नेताहरूले दाबी गरेका छन्। सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ।

अहिलेकी अध्यक्ष समीक्षा बास्कोटा, नेता मिलन पाण्डे र प्रकाशचन्द्र परियार अध्यक्षका दाबेदार छन्। पाण्डेलाई तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रका पालामा कारबाहीसमेत गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको थियो।

तर मिश्रले अध्यक्षबाट राजीनामा दिँदै कारबाही गरिएका नेताहरूको कारबाही फुकुवा गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका थिए। पाण्डे पछिल्लो समय पुनस् विवेकशील साझासँग जोडिँदै महाधिवेशन तयारीमा जुटेका छन्।