कोशी अस्पतालमा कर्मचारी अभाव, एचडिसियू वार्डको सेवा रोकियो

54

काठमाडौँ । कर्मचारी तथा स्वास्थ्यकर्मीको अभावसँगै कोशी अस्पतालको एचडिसियू वार्डको सेवा तत्कालका लागि रोकिएको छ।

अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा. यज्ञराज खरेलले करारका स्वास्थ्यकर्मीको म्याद थप नुहँदा समस्या भएको बताए। एचडिसियूमा कार्यरत १९ जना मेडिकल अधिकृत, १२ जना कर्मचारीको म्याद थप हुन नसक्दा सेवा प्रभावित भएको उनको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार कर्मचारी तथा स्वास्थ्यकर्मीको म्याद थप नगर्ने निर्णय गरेसँगै कोशी अस्पतालको एचडिसियूको सेवा प्रभावमा असर परेको हो।

अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले सचिव स्तरीय निर्णयअनुसार वार्डसँगै अस्पतालमा कार्यरत ४१ जनाको म्याद थप नहुँदा सेवा प्रवाहमा असर पुगेको जानकारी दिए।सरकारको निर्णयसँगै अस्पतालमा कार्यरत ३१ जना स्वास्थ्यकर्मी, ४ जना सहायक स्वास्थ्यकर्मी, २ जना कुचिकार र ४ जना कार्यालय सहायक र १ जना विद्युतसम्बन्धी कार्य गर्ने कर्मचारीको म्याद थप हुन नसकेको उनले बताए।

एचडिसियू वार्डमा आइसियुभन्दा कम र सामान्य वार्डमा भन्दा गम्भीर प्रकृतिका बिरामी उपचारका लागि राखिने गरिन्छ। कोशी अस्पतालमा दैनिक १ हजार रुपैयाँमा बिरामी उपचारका लागि राखिन्थ्यो। अस्पताल प्रशासनका अनुसार करारका स्वास्थ्यकर्मी रहँदा आइसियूमा रहेको २४ शय्यामा उपचार हुने गरेको थियो। तर, करारका कर्मचारीको म्याद थप नहुँदा आइसियु सेवासमेत १० शय्यामा सीमित भएको बताइएको छ।