ढल फुटेर जलमग्न बन्यो करिडोर

63

काठमाडौँ । काठमाडौँ महानगरपालिका-५ स्थित रुद्रमती किनार अर्थात् धोबीखोला करिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ। ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

ढल फुटेर रुद्रमती (धोबीखोला)मा मिसिन थालेको छ। ढल जाम भएर घर-घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगोलले गुनासो गरे। धोबीखोला करिडोर बनाउनुअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याएको थियो।

त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षाद्का सयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ। वडाध्यक्ष वीरेन्द्र प्रजापति कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताउँछन्। यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनियरलाई जानकारी गराएर स्थलगत रूपमा पनि देखाएको उनले जानकारी गराए।

अधिकार सम्पन्न बागमतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन। अधिकार सम्पन्न बागमती दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ। समितिका सूचना अधिकारी कमल अर्याल त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताउँछन्। वर्षादमा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए।