जेठ १६
भक्तपुर । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका छन् । सोमबार चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको अन्तरक्रियामा नगरप्रमुख खत्रीले वर्षायाम सुरू भएसँगै हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि जोखिम न्यूनीकरणका लागि नगरस्तरीय विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
नगर प्रमुख खत्रीले चाँगुनारायण नगरपालिका विभिन्न प्राकृतिक प्रकोपको जोखिममा रहेकाले विपद्बाट हुने क्षति कम गर्न र विपद् प्रभावितको तत्काल उद्दार र राहत पुग्ने कार्यक्रम समावेश गरि कार्ययोजना बनाउनु पर्ने बताए । विभिन्न महामारी जन्य रोगहरू र प्राकृतिक प्रकोपहरूको रोकथाम नियन्त्रणका लागि सरोकारवालाहरूसँग अन्तरक्रिया तथा आरआरटी स्वास्थ्यकर्मी परिचालन कार्यक्रममा उहाँले चाँगुनारायणवासीलाई स्वस्थ बनाउनका लागि स्वास्थ्यकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।
उनले नागरिकको स्वास्थ्यका सन्दर्भमा कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै नगरपालिकाबाट प्रदान गरिने कामहरूलाई जनमैत्री बनाइने समेत बताए । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत कुमारप्रसाद दाहालले समयमै योजना बनाएर काम गर्दा विपद्बाट हुने क्षतिलाई कम गर्न सकिने बताए ।
सोही कार्यक्रममा चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवालले नगरपालिकाले महामारी नियन्त्रणका लागि काम गरिरहेको बताए । उनले आगामी दिनमा थप योजना बनाएर काम गरिने समेत जानकारी दिए ।