Monday, September 28, 2026
Home राजनीति हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी

हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी

58

बैशाख ११,

हेटौंडा : हेटौंडा उप-महानगरपालिकाको मेयरमा ७ जनाको उम्मेदवारी परेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि हेटौंडा उपमहानगरपालिकाको मेयरमा आइतबार ७ जनाले उम्मेदवारी दिएका हुन्। उनीहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा पुगेर उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। उनको अनुसार हेटौंडाको मेयरमा नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोद्यकुमार भट्टराई, सचेत नेपाली पार्टीका तर्फबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौलाको उम्मेदवारी परेको छ।

त्यसैगरी स्वतन्त्र रुपमा देवराज पौडेल र लीलाकुमारी आचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपमेयरमा पनि दुईजनाको उम्मेदवारी परेको छ। उपमेयरमा मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे र नेकपा समाजवादीबाट मखकुमारी तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्। हेटौंडाका ३ जना वडाध्यक्षको लागि पनि उम्मेदवारी परेको श्रेष्ठले बताए। उनले हेटौंडा उपमहानगरपालिका ६ मा नेमकिपाका दीपेन्द्र श्रेष्ठ र १९ नम्बरमा रमेश पौडेलले स्वतन्त्र उम्मेदवारी दिएको बताए। हेटौंडा १७ मा नेपाल विवेकशील पार्टीका कृष्णदेव भण्डारीले वडा सदस्यसहित उम्मेदवारी दिएका छन्। निर्वाचन आयोगले आजका लागि अपरान्ह ५ बजेसम्मको लागि मनोनयन दर्ताको समय तोकेको छ। भोलि पनि मनोनयन गर्न पाइनेछ।