काठमाडौं । सप्तकोशी नदिमा पानी जहाज (मोटरबोट) चलेपछि हिजोआज सुनसरी, उदयपुर, भोजपुर आसपासका सर्वसाधरणलाई राहत भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका वडा १. चतराक्षेत्रबाट पानी जहाज माथिल्लो क्षेत्रतिर जानथालेको केही समय भयो । भोजपुर जिल्लाका मानिसलाई ३/४ घण्टा हिड्ँनु पर्ने पैदल यात्रा छोटो भएर ३० मिनेट जतिको भएको छ । सडक यातायातको पहँुच पुग्न नसेको स्थानका ग्रामिण भेगका सर्वसाधरणलाई दैनिक उपभोग्यबस्तु, निर्माण सामाग्रीलगायत ढुवानी गर्न सहज भएको भोजपुरका दीपक राई बताउछन् ।
स्थानीयलाई यात्रा गर्न ५ सय रुपैयाँ शुल्क पानी जहाज संचालकहरुले लिदैं आएका छन् । बाह्यक्षेत्रकालाई भने १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म शुल्क जलयातायात व्यवसायीहरुले लिने गरेका छन् । बराहक्षेत्र, चतराधाम दर्शन गर्न जाने नेपाली र भारतिय पर्यटकहरु समेत जलयात्रामा रमाउने गरेको देख्न सकिन्छ । सप्तकोशी नदिको दायाँबाया क्षेत्रमा सामान्य खाजापसलदेखि बासबस्ने मिल्ने होटलहरु संचालनमा आइसकेका छन् ।
यसले स्थानीय क्षेत्रमै रोजगारको अवसर सिर्जना भएको छ । अर्को तर्फ कृषि तथा घरेलु उत्पादनले बजार पाउने गरेकाले त्यसक्षेत्रका बासिन्दा खुसि देखिन्छन् ।
धार्मीक पर्यटनकोलागि आउनेहरुले समेत मोटरबोट चढेर जलयात्रामा रमाउने गरेका छन् । शुक्रबार र शनिबार सो क्षेत्रमा आन्तरिक र भारतिय पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ । अन्यदिन समेत घुम्न आउनेहरुको संख्या निकै हुन्छ । सो क्षेत्रमा धरान, काठमाडौं, पोखरा, विराटनगर, इटहरीलगायत स्थानका हजारौं आन्तरिक पर्यटकहरुको उपस्थित हुने गरेको छ ।