माघ २१,
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफूहरुमाथि संघीय सरकारको गिद्धेनजर रहेको भन्दै गल्ती नगर्न मन्त्रीहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा गठनको २ बर्ष पूरा भएको अवसरमा प्रदेशसभा सचिवालयले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले गत वर्ष योजनाको भुक्तानीमा समस्या आउनुमा मन्त्रीहरुको गल्ती रहेको भन्दै यस्ता गल्ती नदोहोर्याउन आग्रह गरे । ‘यही प्रदेशमाथि संघीय सरकारको गिद्दे नजर छ र, हामीले नै गल्ती गरेमा तत्कालै औंला उठाइन्छ’ उनले भने, ‘यसैले गल्ती नगरी इमान्दारीपूर्वक काम गर्नु जरुरी छ ।’
गत आर्थिक वर्षमा मन्त्रीहरुले लिखित अख्तियारीविना मौखिक रुपमा विभिन्न योजना कार्यान्वयन गराएका कारण भुक्तानीमा समस्या आएको मुख्यमन्त्री राउतले बताए । ‘मौखिक अख्तियारी दिएरै काम गराएका कारण यो अवस्था आएको हो’ मख्यमन्त्री राउतले भने, ‘योजनाहरुको लिखित अख्तियारी दिएर समयमै टेण्डर लगाइदिएको भए यो अवस्था आउने थिएन ।’
गत बर्ष सम्पन्न भएका ८ सय ४२ वटा योजनाको झण्डै ८३ करोड रुपैयाँ उपभोक्ता समितिले हालसम्म पाउन सकेका छैनन् । जसले गर्दा प्रतिपक्षीका साथै सत्तारुढ सांसदले समेत प्रदेशसभा बैठक अवरुद्व गर्दै आएका छन् । पछिल्लो तीन महिनायता प्रदेशसभाको बैठक बस्न सकेको छैन् । सांसदले भुक्तानी नदिएसम्म संसद चल्न नदिने चेतावनी दिँदै आएका छन् ।