बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरुलाई ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास

207

जेठ ६,

हेटौंडा : बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ।शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजेको लागि वर्षे तथा बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले दीर्घरोगीहरुलाई उपचार खर्चस्वरुप ५० हजार रुपैयाँ दिने गरी कार्यविधि पास पनि गरेको छ। सरकारले यसअघि नै हृदयाघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीहरुलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो। तर, कार्यविधि नबन्दा सर्वसाधारण जनताले सो सेवा प्राप्त गर्न नसकेकोले कार्यविधि पास गरी कार्यक्रम लागू गर्ने बाटो खुल्ला गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।त्यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको मन्त्री खनालले बताए। ‘वृद्धाश्रममा जाडो महिनामा वृद्धवृद्धाहरुलाई आगो ताप्नको लागि दाउरा आवश्यक पर्ने भए पनि समस्या भइरहेको थियो, त्यस्तै घाटमा शव जलाउनको लागि पनि दाउरा आवश्यक हुन्छ। हामीले यो समस्या समाधानको लागि दाउराको सहज आपूर्तिको प्रबन्ध मिलाउने निर्णय गरेर सम्बन्धित निकायमा जानकारी गराइसकेका छौँ।’ मन्त्री खनालले भने।