Sunday, September 27, 2026
Home पर्यटन कालीगण्डकीको भीरमा चचहुई…

कालीगण्डकीको भीरमा चचहुई…

108

कात्तिक १,
पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ। फेदीमा सुसाउँदै बगिरहेको कालीगण्डकीमाथिको भीरमा काला चट्टान (स्थानीयले दाह्रे ढुङ्गा भन्ने गरेका) रहेको ठाउँमा साँझको बेला एक्लै जान पनि डर लाग्थ्यो। त्यही ठाउँमा अहिले पर्वतका त भइनै हाले त्यसबाहेक बाग्लुङ, म्याग्दी, कास्की, चितवन, धादिङलगायत जिल्लाका मानिसहरू पनि ओहोरदोहोर गरेका भेटिन्छन्। कारण हो, त्यही डरलाग्दो भीरको माथि डिलैमा रहेको ‘६२३ बी सी रक गार्डेन एन्ड रेस्टुरेन्ट’। यो गार्डेनको नाम बुद्ध जन्मेको समयलाई राखेर बनाइएको छ। बुद्ध नेपालमा जन्मिएका हुन् र नेपाल शान्तिका प्रतीक बुद्धको देश हो भन्ने चिनाउन गार्डेन र रेस्टुरेन्टमा बुद्ध जन्मिएको मिति समेटिएको सञ्चालक बताउँछन्। यो गार्डेन पर्वतकै कुस्मा नगरपालिका–५ का वडा सदस्य तथा स्थानीय एकता युवा क्लबका अध्यक्ष नरेन्द्रबहादुर खत्रीले सञ्चालनमा ल्याएका हुन्। गार्डेन निर्माणको लागि अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको र अझै पनि केही भौतिक संरचनाहरू निर्माणको काम चलिरहेको खत्रीले बताए। यस्ता छन् आकर्षण ‘रक गार्डेन’को सबैभन्दा बढी आकर्षण भीरमा खेलिने पिङमा छ। भीरको माथि फलामका खम्बा हालेर पिङ बनाइएको छ। जमिन छोड्न साथ कालीगण्डकीमाथि रहेको भीरमा पुगिन्छ। पिङ खेल्दा भीरमाथि पुगिने भएकाले खेल्नेहरूलाई ‘सेफ्टी रोप’ ले बाँधेर मात्र खेलाइन्छ। सञ्चालक खत्रीका अनुसार यो पिङ महिलाहरूको मात्र निर्माण गरिएको भए पनि पुरुषहरू पनि खेल्ने गरेका छन्। गार्डेन र रेष्टुरेन्टको बीचमा कालीगण्डकी नदीमा मात्र देख्न पाइने काला चट्टानहरु छन्। ती चट्टानहरूलाई पनि सिँगारिएको छ। ‘डेकोरेसन’का लागि प्रयोग गरिएका सामग्रीहरु काम नलाग्ने भनी फालिएका बस्तुहरू छन्। रुखका जरालाई विभिन्न आकृति दिएर रङ लगाइएको छ। बस्नका लागि पुराना टायरहरूलाई छेंडेर डोरी घुसाएर चिटिक्क रङ लगाइएको छ। फ्रेस हाउसमा मासु काट्नका लागि प्रयोग गरिएका पुराना अचानाहरूमा रङ भरेर आकर्षक कुर्ची बनाइएको छ।