डिप्रेसन भएको प्रमाणित भए महरालाई सजाय थप हुने

285

असोज १७,
काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएकी महिलाले महरा पदमुक्त भएकै दिन आफू ‘डिप्रेसन’को विरामी भएको भन्दै प्रहरीमा निवेदन दर्ता गराइन् । डिप्रेसनकै कारण सञ्चार माध्यममा आएका विषयबारे आफूलाई थाहा नभएको भन्दै उनले महानगरीय प्रहरी वृत्त, तीनकुनेमा बुधवार निवेदन दिएकी हुन् ।

सञ्चार माध्यममार्फत सार्वजनिक अघिल्लो भिडियोमा उनले बलात्कार भएको बताएकी थिइन् । तर, भोलिपल्टै उनको कुनै दुव्र्यहार नै नभएको भन्ने भिडियो पनि सार्वजनिक भयो । संघीय संसद सचिवालयमा काजमा कार्यरत ती महिलाको फरक–फरक बयानले बलात्कारजस्तो गम्भीर अपराधको अनुसन्धान र न्याय निरुपणमा पीडितको बयानको कति महत्व छ भन्ने प्रश्नलाई सतहमा ल्याएको छ ।

निवर्तमान सभामुख महरा प्रकरणमा जोडिएकी महिलाले सञ्चार माध्यमसँग आफूले बोलेको कुराबारे अनभिज्ञता प्रकट गरेकी छ । यो कुरा उनले बुधबार प्रहरीमा दिएको उजुरीमा पनि उल्लेख छ ।

मुलुकी अपराध संहिताको परिच्छेद १८ अनुसार होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानीदैन । अर्थात होस ठेगानमा नभएको अवस्थामा राजीखुशीमै शारीरिक सम्बन्ध राख्नु पनि बलात्कार नै हो । कानूनमा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई करणी गर्दाको अवस्था र पीडितको उमेर अनुसार सात वर्षदेखि जन्मकैदसम्मको सजाय तोकेको छ । डिप्रेसन वा अन्य कारणले मानसिक अस्वस्थलाई करणी गर्नेलाई अपराध संहिताको धारा २१९ मा थप पाँच वर्ष सजायको व्यवस्था छ ।