नेकपालाई चीन, कांग्रेसलाई भारत

96

अन्नपूर्ण पोष्ट
असोज ११, काठमाडौं । विपक्षी कांग्रेसले छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजकको जिम्मेवारी पाएको छ । ३३ देशका संसद्सँग सहकार्य गर्न संसद्ले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद समेटेर मैत्री समूह गठन गरेको हो । अधिकांश मैत्री समूहका संयोजकमा शीर्ष नेताहरू नै छन् ।
दलीय भागवण्डाअनुसार सत्तासीन नेकपा २१, विपक्षी कांग्रेस ६, सत्तासीन समाजवादी पार्टी ३ र राजपाले ३ देशको मैत्री समूहको संयोजक पाएका छन् । द्धिपक्षीय सम्बन्ध कायम रहेका तथा नेपालका दूतावास रहेका मुलुकसँग संसदीय अभ्यास र अनुभव आदानप्रदान गर्न समूह गठन गरिएको संसद् सचिवालयले जनाएको छ । ‘मित्र राष्ट्रबीचको कुटनीतिक सम्बन्ध तथा मित्रता प्रभावकारी बनाउन, कतिपय विषयमा लबिङ गर्न र एकापसमा अनुभव साटासाट गर्न मैत्री समूहले काम गर्छन्,’ संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले भने ।

छिमेकी भारत र अमेरिका मैत्री समूहको संयोजक कांग्रेसले लिएको छ भने छिमेकी चीन र बेलायत मैत्री संयोजक सत्तासीन नेकपाले लिएको छ । भारत मैत्री समूहको संयोजकमा कांग्रेस नेता विजय गच्छदार चयन भएका छन् । विनोद चौधरी, रेणु यादवसहित १० जना भारतीय मैत्री समूहका सदस्य छन् । छिमेकी चीन मैत्री समूहको संयोजक भने सत्तासीन नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । नेकपा प्रमुख सचेतक देव गुरुङ, अग्नि सापकोटा, शान्ता चौधरी लगायत १२ जना चीन मैत्री समूहका सदस्य चयन भएका छन् ।

पुनस्र्थापित प्रतिनिधिसभा र त्यसपछि गठन भएका दुवै संविधानसभामा संसदीय मैत्री समूह सक्रिय थिए । विपक्षी कांग्रेसले अमेरिका मैत्री समूहको संयोजक पनि पाएको छ । कांग्रेसका डा। मिनेन्द्र रिजाल संयोजक रहेको समूहमा राजपाका शरतसिंह भण्डारी, कांग्रेसका दिलेन्द्र बडु, पुष्पा भूसालसहित १० जना सदस्य छन् । सत्तासीन नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपाल फ्रान्स मैत्री समूहको संयोजक बनेका छन् ।