खेल क्षेत्रमा लागौं स्वास्थ्य बलियो बनाऔं: नगर प्रमुख थापा

486

असोज ११,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले देशलाई समृद्ध बनाउन खेलको विकास जरुरी रहेको बताएका छन् । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, मध्यपुर थिमिले आयोजना गरेको ३ नम्बर प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले युवावर्गलाई खेलमा लगाउन खेल क्षेत्रको विकाशका लागि यो वर्षदेखि सूर्यविनायक नगरपालिकाले रु ५० लाख बजेट छुट्याएको जानकारी दिए । उनले कुलतमा लागेर स्वास्थ्य बिग्रानु भन्दा खेल क्षेत्रमा लागेर स्वास्थ्य बलियो बनाउदैं संम्वृद्ध देश बनाउने अभियानमा सहभागी हुन् युवाहरुलाई आग्रह गरेका छन्

शुक्रबार भक्तपुर स्थित कृषि विकास बैंक तालिम केन्द्र, बोडेमा ३ नं. प्रदेश स्तरीय मदन भण्डारी मेमोरियल रापिड रेटिंग बुद्धिचाल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा ३ नं. प्रदेश १३ जिल्लाबाट झन्डै ८० जना खेलाडीहरुले भाग लिने मदन भण्डारी स्पोर्ट्स एकेडेमी केन्द्रका महासचिव बचन देउजाले जानकारी दिएका छन् ।बुद्धिचाल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार ,दोश्रोलाई १५ हजार, तेश्रो हुनेलाई १० हजार, चौथो हुनेलाई ७ हजार, पाँचौ हुनेलाई ५ हजार र छैठौ देखि दशौं सम्म हुने खेलाडीलाई रु ३ हजार पुरस्कार प्रदान गरिने छ । कार्यक्रममा एकेडेमीका केन्द्रीय महासचिव वचन देउजा, केन्द्रीय सचिव धर्म लामा, एकेडेमीका मध्यपुरथिमि अध्यक्ष सिद्धिकृष्ण श्रेष्ठ, सचिव शिव श्रेष्ठलगायतले बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने गरी खेलाडी उत्पादन गर्न सरकारले लगानी गर्नुपर्ने बताए ।