गच्छदार समूहले कांग्रेसमा प्रतिनिधीत्व पायो

153

असोज ११,

काठमाडौं । पार्टी एकीकरण गरेको झण्डै दुई वर्षपछि नेपाली काँग्रेसमा नेपाल लोकतान्त्रिक फोरम पार्टीका ११ जना नेताहरुले कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रवेश पाएका छन्। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित पाँच सदस्यीय समायोजन समितिले तयार पारेको प्रतिवेदन अनुसार उपसभापति विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकका तर्फबाट काँग्रेस केन्द्रीय कार्यसमितिमा ११ जना सदस्य मनोनित भएका हुन् ।

शुक्रबार साँझ पार्टी कार्यालय सानेपमा बेसेको केन्द्रीय समिति बैठकले उपसभापति निधि नेतृत्वको समितिले तयार पारेको प्रस्तावलाई अनुमोदन गरेको छ । तर केन्द्रीय सदस्यमा मोनोनित गरिएको नाम सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार राष्ट्रिसभा सांसद जितेन्द्र नारायण देव, पूर्वमन्त्री रामजनम चौधरी, भारतेन्दुकुमार मल्लिक, महेश कोर्मोचा, वीरेन्द्र नेपाली, योगन्द्र चौधरी, सुमित्रा थारु, गोपाल दहित, नसिद सिद्धिकी, हरि न्यौपाने, श्रीकुमार गुर्माछानेलाई केन्द्रीय सदस्यमा ल्याइएको छ ।

महासमिति र महाधिवेशन प्रतिनिधिको हकमा यसअघि सम्पन्न महासमिति बैठकमा फोरम लोकतान्त्रिकबाट प्रवेश पाएका २ सयमध्ये १४८ पर्यवेक्षक पनि महाधिवेशन प्रतिनिधि रहने तथा थप २५२ प्रतिनिधि थप गरी कूल ४५२ जना पुग्ने छन्। केन्द्रीय विभाग तथा प्रदेश कार्यसमिति गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखि गरिने भनिएपनि जिल्ला कार्यसमितिको हकमा मोरङ, सुनसरी, कैलाली, बर्दिया लगायतका १३ जिल्लामा उपसभापति र निश्चित संख्यामा सहसचिव र सदस्यहरुको ल्याइएको छ ।