Tuesday, September 22, 2026
Home पत्रपत्रिका देशमा सी जिनपिङको विचारधारा लागू गर्ने तयारीमा सत्तारूढ नेकपा

देशमा सी जिनपिङको विचारधारा लागू गर्ने तयारीमा सत्तारूढ नेकपा

74

राजधानी दैनिक
असोज ६, काठमाडौं। सत्तारुढ नेकपाले मुलुकको विकासका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको विचारधारा लागू गर्ने तयारी थालेको छ । नेकपाले चीनमा चामत्कारिक विकास गर्न सफल सीको विचाराधाराबारे पार्टीमा प्रशिक्षण दिँदै सीको विकास मोडल लागू गर्ने गृहकार्य अघि बढाएको हो । नेकपाले अवलम्बन गरेको जनताको जनवाद (जज) र जिनपिङको विचारधाराबारे केन्द्रित भई आज (सोमबार(देखि प्रशिक्षण सुरु हुन लागेको नेकपाले जनाएको छ । चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणको तयारी भइरहेको समयमा सी विचारधारालाई नेकपाले अवलम्बन गर्न लागेको हो । स्कुल विभागमा हुने प्रशिक्षण पछि सी विचारधारालाई अवलम्बन गर्दा पार्टी बलियो हुने नेकपाको बुझाइ छ । कतिपयले सीको नेपाल भ्रमणलाई लक्षित गरी सो विषय अगाडि सारिएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल विभागले चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरका नेतासहित जज र सी विचारधारबारे सोमबार र मंगलबार राजधानीमा छलफल तय गरेको हो ।

नेकपाको यो तयारीलाई नेपालस्थित कूटनीतिक नियोगहरूले समेत विशेष चासो दिएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको केही समयअघि भएको नेपाल भ्रमणका क्रममा समेत सी विचारधारा अवलम्बन गर्ने विषयमा छलफल भएको थियो । सो कार्यक्रमा नेपाल र चीनका तीन सय बढी नेता सहभागी हुने प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । नेकपा सचिवालयका नौ जना, स्थायी कमिटीका ४५ जना, केन्द्रीय कमिटीका एक तिहाइ गरी नेपालबाट २ सय ५० जना नेता सहभागिता हुने स्कुल विभागले जनाएको छ । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ तावको नेतृत्वमा ४० चिनियाँ नेता सहभागी हुँदै छन् । नेकपा केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख थापाले छलफलका क्रममा नेपालको ७० वर्षे कम्युनिस्ट इतिहासका साथै चीनको कम्युनिस्ट विचारको आदानप्रदान हुने जानकारी दिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचार आदान–प्रदान एवं अन्तरक्रिया हुने बताइएको भए पनि अब स्कुल विभागले सोअनुसार प्रशिक्षण दिने तयारी गरिरहेको पार्टी निकट स्रोतले जानकारी दिएको छ । सीले नेपालमा कम्युनिस्ट सरकार रहेको समयमा विशेष प्याकेज घोषणा गर्न सक्ने अपेक्षासमेत नेकपाले गरेको छ । केपी ओली नेतृत्वको सरकार पनि सीको नेपाल भ्रमणको अवसरलाई विशेष बनाउने तयारीमा जुटेको छ । जसका कारण पार्टीको स्कुल विभागले समेत सी विचारधारालाई अगाडि सारेको विज्ञहरू बताउँछन् ।
‘यो कुनै प्रशिक्षण होइन, दुई देशका कम्युनिस्ट विचारको छलफल मात्रै हो,’ थापाले भने, ‘नेपाल र चीन दुवैतर्फबाट कार्यपत्र प्रस्तुत गरिने र त्यसमा छलफल हुन्छ ।’