भदौ ३०,
काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निश्कासित पत्रकारको पुनर्वहालीको माग गर्दै मुल गेटमा तालाबन्दी गर्न पुगेका पत्रकारहरुको गिरफ्तारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पत्रकारहरुलाई गरिएको गिरफ्तारीप्रति कांग्रेस आपत्ति रहेको जनाएका हुन् ।
प्रेस विज्ञप्ति
सरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका साथीहरुलाई केही बेर अघि गरिएको गिरफ्तारीको नेपाली कांग्रेस भत्र्सना गर्दछ ।
पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।
मंगलबार बेलुकी मात्रै सम्माननीय प्रधानमन्त्रीज्यूलाई डोटीको प्रकरणका बारेमा समेत ध्यानाकर्षण गराइएको थियो । यसबारे यथाशीघ्र निर्णयमा पुग्न नेपाली कांग्रेस सरकारलाई सार्वजनिक रुपले सचेत गराउन चाहन्छ ।
विश्वप्रकाश शर्मा
प्रवक्ता