साउदी आक्रमणका कारण कच्चा तेलको मूल्य चार महिनाकै उच्च

198

एजेन्सी , भदौ ३०,
काठमाडौं । साउदी अरेबियाका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि इन्धनको मूल्य पछिल्लो चार महिनाकै उच्च भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज भएको कारोबारमा कच्चा तेलको मूल्य १९ प्रतिशतले बढेको बीबीसीले जनाएको छ। सोमबार तेलको मूल्य ब्यारेलमा ७१ दशमलब ९५ डलर बढेको पुगेको छ। दैनिक ५७ लाख ब्यारेल तेल उत्पादन कटौति भएपछि अमेरिकाले आफ्नो कच्चा तेलको भण्डार खोलेको छ। अमेरिकाले कच्चा तेल भण्डार सूचारु गरेपछि तेलको भाउ धेरै नबढ्ने अनुमान गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले साउदी अरेबियाको कम्पनीबाट तेल आपूर्ति हुन समय लाग्ने भएपछि आफ्नो देशमा रहेको भण्डार खोल्न निर्देशन दिएका थिए। साउदी अरबको सरकारी तेल कम्पनी अरामकोले विश्वमा हुने तेलको मागमध्ये ८ प्रतिशत आपूर्ति गर्ने गरेको थियो। शनिबार साँझ यमनको हुथी विद्रोहीले ड्रोन आक्रमण गरी साउदी अरब सरकारका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पु¥याएको थियो।