भदौ १२,
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले टिपर आतंक रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले भने, ‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन् भनेर देखाउनुपर्यो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन्। दुई चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने !’
उनले मासिक सात जनाको टिपरकै कारण मृत्यु हुने गरेको भन्दै नियत्रन्ण गर्न माग गरे। ‘टिपरको बौलाह दौडाइ छ। जेब्रा क्रसिङ पनि छैन कसरी बाटो काट्नेरु सुविधाजनक ढंगले रिङरोड क्रस गर्ने वातावरण मिलाइयोस्।’ सिनामंगलमा गत आइतबार राति ९ बजेतिर एउटा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भयो। मोटरसाइकलमा सवार बाँकी चार जना घाइते छन्।
काठमाडौंजस्तो सहरी क्षेत्रमा टिपर चलाउनै दिन हुँदैन। सरकारले भने रोक लगाउनुको साटो दिउँसो चल्न नदिने नियम ल्यायो। बिहान ८ बजेअघि र बेलुकी ८ बजेपछि मात्र मालवाहक सवारी चल्न दिने नियम टिपरमा पनि लागू भयो। यो नियमले टिपर आतंक घट्नुको साटो बढेको छ।