सरकार छाड्न/नछाड्नेमा समाजवादीमा अलमल

114

नागरिक दैनिक
साउन १९,
काठमाडौं । पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने÷नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो। सरकारमा रहने वा छाड्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन पार्टीभित्रबाट नेतृत्वमाथि दबाब आउने गरे पनि पार्टी अध्यक्ष उपेन्द्र यादवले भने अहिलेसम्म खासै प्रतिक्रिया व्यक्र गरेका छैनन्। सोही कारण यादव पक्षधर नेताहरू पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नभएको बताउँदै आएका छन्।

पार्टी स्रोतका अनुसार पार्टीको कार्यकारिणी अध्यक्ष यादव तत्काल सरकार छाड्ने पक्षमा छैनन् भने राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका केही नेताहरू पार्टीले तत्काल सरकार छाडेर प्रतिपक्षीमा बस्नुपर्ने अडानमा छन्। केही दिनअघि बसेको पदाधिकारी बैठकमा यसबारेमा चर्चा भए पनि कुनै निर्णय भने हुन सकेन। तत्कालीन संघीय फोरम र नयाँ शक्तिबीच एकीकरण भई समाजवादी पार्टी गठन हुँदा एकीकरणपछि एकीकृत पार्टीले सरकार छाड्ने सहमति भएको पूर्व नयाँ शक्ति पक्षधर नेताहरू दाबी गर्छन्। पूर्व फोरमका नेताहरू भने सरकार छाड्ने विषयमा एकीकरणअघि सहमति नभएको बताउँछन्।

समाजवादी पार्टीकी उपाध्यक्ष तथा पूर्व फोरमकी नेतृ रेणु यादव भने समाजवादी पार्टी र नयाँ शक्तिबीच एकीकरण हुनुअघि एकीकृत पार्टीले सरकार छाड्ने विषयमा सहमति नभएको बताउँदै समाजवादी पार्टीले तत्काल सरकार छाड्ने सम्भावना नदेखिएको बताउँछिन्।