असार २७,
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले पूर्व अध्यक्ष राजेन्द्र बराललाई सम्मान गरेको छ । बिहीबारदेखि राजधानीमा सुरु भएको १३ औं इक्यान शैक्षिक मेलाको उद्घाटनमा बराललाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले खादा ओढाएर सम्मान गरे । १३ वर्षदेखि निरन्तर यस क्षेत्रमा क्रियाशिल बराल इक्यानमा २ वटा कार्यकालमा अध्यक्षका रुपमा सेवा गरेका थिए ।
एजुकेशन कन्सलटेन्सी क्षेत्रलाई नियमन तथा निर्देशित गर्नका लागि शिक्षामन्त्रालयसँग सहकार्य गरी यस क्षेत्रको विकासका लागि बरालको भूमिका उल्लेखनीय मानिन्छ । बराल हाल इक्यानका पूर्व अध्यक्ष परिषद्का सभापति हुन् । सम्मान कार्यक्रममा बोल्दै, बरालले एजुकेशन कन्सलटेन्सी क्षेत्रले विद्यार्थीहरु नेपालबाट विदेश पठाउने मात्रै नभइ विदेशबाट समेत विद्यार्थी नेपाल ल्याउनेतर्फ अग्रसर हुनुपर्ने बताए । उनले भने, ‘नेपालमा पनि विदेशीबाट विद्यार्थी ल्याउने प्रचुर सम्भावना छ, मुलुकको शिक्षाको विकासका लागि विदेशी विद्यार्थी नेपालमा ल्याएर एजुकेशन हव बनाउनका लागि एजुकेशन कन्सलटेन्सी क्षेत्रले अग्रसरता लिनुपर्छ ।’
बराललाई सम्मान गर्दै इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले यस क्षेत्रको विकासका लागि बरालको भूमिका उल्लेखनीय रहेको बताउँदै भविष्यमा पनि उहाँको सहयोग र सल्लाह इक्यानका लागि आवश्यक रहेको बताए । मेलामा ३०० भन्दा बढी स्टलबाट वैदेशिक शिक्षाका बारेमा जानकारी उपलब्ध गराइएको छ । इक्यानले बिहीबारदेखि आयोजना गरेको शैक्षिक मेला ४ दिनसम्म चल्नेछ । असार २९ गते आइतबारसम्म चल्ने मेलामा चार वटै दिन रक्तदान तथा प्राथमिक उपचारको व्यवस्था समेत गरिएको छ । साथै मेलामा नेपाल फोटो पत्रकार महासंघले सुन्दर नेपाल शीर्षकको फोटो प्रदर्शनी गर्नेछ ।