छायांकन पूरा नहुँदै ‘छ माया छपक्कै’ को ओभरसिज राइट्स सर्वाधिक महँगो मुल्यमा विक्री

214

असार १७,
काठमाडौं । दीपक-दीपा समुहको नयाँ फिल्म ‘छ माया छपक्कै’ को छायांकन पनि पूरा नहुँदै सर्वाधिक महँगो मुल्यमा ओभरसिज राइट्स विक्री भएको छ । निशान बजगाईंले फिल्मको विदेश राइट्स १ करोड १६ लाखमा खरिद गरेका छन् । स्रोतका अनुसार, उनले अन्तिम बोली १ करोड १५ लाख लगाएका थिए । तर, दीपक-दीपाले आफूहरुलाई ६ अंक फाप्ने भएका कारण एक लाख बढाउन आग्रह गरेपछि विदेश राइट्समा सहमती जुटेको हो ।

अब, विदेशमा यो फिल्म प्रदर्शन गर्न चाहनेले निशानसँग सम्पर्क गर्नुपर्ने छ । ‘छ माया छपक्कै’ को एक गीतबाहेक बाँकी छायांकन लगभग सकिएको छ । केही दिनमा लोक शैलीको एक गीत राजधानीमा खिच्ने तयारीमा निर्माण टिम छ । फिल्मका निर्देशक दीपेन्द्र लामा हुन् । उनलाई दीपाश्री निरौलाले सघाएकी छन् । यो फिल्मले दशैंमा अशोक शर्माको फिल्म ‘रातो टिका निधारमा’ सँग बक्सअफिसमा प्रतिस्पर्धा गर्दैछ ।

फिल्ममा कलाकार दीपकराज गिरीसँग अभिनेत्री केकी अधिकारीको जोडी बाँधिएको छ । केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । फिल्म ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित छ । दीपक र दीपाको समुहले मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो फिल्म गरेको हो । फिल्मका निर्माता रोहित अधिकारी हुन् । हरि हुमागाइँले फिल्म खिचेका छन् ।