नयाँ पत्रिका दैनिक
असार ६, पोखरा । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् छिट्टै हेरफेर हुने बताएका छन् । उनले सरकारले जनजीविका सहज नबनाएको र अपेक्षित परिणाम दिन नसकेको भन्दै सरकारको आलोचना पनि गरे । बजेट पारित भएपछि मन्त्रिपरिषद्मा फेरबदल गर्नेबारे प्रधानमन्त्री ओलीसँग आफूले छलफल गरेको प्रचण्डको भनाइ छ । प्रेस संगठन कास्कीले बिहीबार गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषद्मा केही हेरफेर हुन्छ, तर कहिले र को फेरिने भन्ने विषय नितान्त प्रधानमन्त्रीको विषय हो । मोटामोटी नीति कार्यक्रम र बजेटपछि मन्त्रीहरू हेरफेर गर्नेबारे प्रधानमन्त्रीसँग छलफल भइरहेकै छ ।’
पोखराका पर्यटन व्यवसायीहरूसँग छलफल गर्दै उनले मन्त्रिपरिषद्मा हेरफेरसँगै पर्यटनमन्त्री नियुक्त हुने बताए । प्रचण्डले जनजीविका सहज बनाउने र सुशासन कायम गर्ने सवालमा सरकारले अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरे । ‘मूल रूपमा पार्टी एकताको स्प्रिट र लक्ष्यअनुरूप काम भएको छ,’ उनले भने, ‘तर जनजीविका सहज बनाउने र सुशासन कायम गर्ने सन्दर्भमा सोचेअनुरूप काम हुन सकेन भन्ने नै जनताको गुनासो सुनियो ।’ प्रचण्डले पार्टी एकतामा भएका सहमति र त्यसवेला गरेका प्रतिबद्धतामा कसैलाई पनि दायाँबायाँ गर्ने छुट नभएको जिकिर गरे । कम्युनिस्ट पार्टीको एकतालाई जनताले अनुमोदन गरिसकेपछि एकता प्रक्रिया र संकल्पबाट दायाँबायाँ गर्न नमिल्ने उनले बताए ।