कांग्रेसले १३ वर्षदेखिका विद्यार्थीलाई प्रजातन्त्र र समाजवाद पढाउने

89

रमेश सापकोटा ( नयाँ पत्रिका)
बैशाख २३, काठमाडौं । कांग्रेसले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने भन्दै किशोरहरूबीच समाजवादको प्रशिक्षण लैजाने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दलले १३ वर्ष उमेर पुगेका विद्यार्थीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट विशेष कार्यक्रम लैजान लागेको हो । ‘फरक–फरक उमेर समूहका लागि प्रजातन्त्रको कुरा पढाउने हाम्रो तयारी छ,’ नीति प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले नयाँ पत्रिकासित भने, ‘यसमा विशेष कार्यक्रम बनाएरै लागू गर्छौँ ।’ दाहालले १३ वर्षकै उमेरदेखि विद्यार्थीहरूलाई प्रजातन्त्रको कुरा पढाउन विशेष कार्यक्रम ल्याउने जानकारी दिए । कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भने यसअघि नै १६ वर्ष नपुगेका विद्यार्थीलाई सदस्यता नदिने र संगठित नगर्ने सार्वजनिक प्रतिबद्धता जनाएको थियो । तर, नयाँ पुस्तालाई कांग्रेसको राजनीतिमा संगठित गर्न भन्दै कांग्रेसले कम उमेरकै विद्यार्थीलाई पार्टी राजनीतितर्फ डोहो(याउन प्रशिक्षणसहितका कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

प्रतिष्ठानको निर्णयमा ‘नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिन र नेपाली कांग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थीहरूका लागि र १९ वर्ष देखि २८ वर्षसम्मका उमेर समूहका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने’ भन्ने उल्लेख छ ।