पूर्वराष्ट्रपतिको सुरक्षामा ३० सुरक्षाकर्मी तर, पूर्वराजालाई ९६ प्रहरीको पहरा

99

नवराज मैनाली ( नयाँ पत्रिका दैनिक)
बैशाख ११, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ प्रहरी खटिएका छन् । यता पूर्वराष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरू बताउँछन् । सुरक्षा संवेदनशीलताका आधारमा पनि पूर्वराजालाई २०–२५ जना प्रहरी पर्याप्त हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

पूर्वराजाको सुरक्षाका नाममा राष्ट्रसेवक सुरक्षाकर्मीलाई अनावश्यक रूपमा खटाइएको भन्दै संसद्को सुशासन समितिले संख्या घटाउन सरकारलाई निर्देशन दिएको थियो । तर, तीन वर्षसम्म सो निर्देशन कार्यान्वयन भएको छैन । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजाको सुरक्षामा धेरै सुरक्षाकर्मी खटाउनु अनावश्यक भएको गृह मन्त्रालयकै अधिकारीहरू बताउँछन् । ०६५ मा गणतन्त्र घोषणालगत्तै सरकारले सुरक्षा मूल्यांकनका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको थियो । हालसम्म पुनरावलोकन भएको छैन ।