एयरपोर्ट डिपोबाट दिउँसै २ हजार लिटर इन्धन चोरी

95

नयाँ पत्रिका
चैत २१, काठमाडौं । सिनामंगलस्थित हवाईइन्धन डिपोबाट मंगलबार दिउँसो २ बजे चोरी हुन लागेको दुई हजार लिटर हवाईइन्धनसहित कन्टेनर नियन्त्रणमा लिइएको छ । स्रोतका अनुसार श्री एयरलाइन्सले हेलिकोप्टरका लागि ६ हजार लिटर हवाईइन्धन खरिदको स्वीकृति निगमबाट लिएको थियो । तर, डिपोबाट आठ हजार लिटर हवाईइन्धन लोड भएको थाहा पाएपछि कन्टेनर सुरक्षा गार्डले कन्टेनर नियन्त्रणमा लिएका थिए । ६ हजार लिटर इन्धन बोक्न २ सय लिटर क्षमताका ३० ड्रम कन्टेनरमा हालेर डिपोभित्र कन्टेनरले गेट पास लिएको छ । तर, सोही कन्टेनर बाहिरिँदा ४० ड्रम इन्धन रहेको फेला परेपछि छानबिनका लागि नियन्त्रणमा लिइएको थियो । थप गरिएका १० ड्रममा स्वीकृति लिएभन्दा २ हजार लिटर बढी इन्धन लोड गरिएको थियो ।

मंगलबारको घटनाको वास्तविकता पत्ता लगाउन आयल निगमले छानबिन समिति बनाएको आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले बताए । ‘मंगलबार दिउँसो घटना भएको पाएपछि सत्यतथ्य बुझ्न छानबिन टोली बनाएको छु,’ उनले भने, ‘घटनामा दोषी भेटिए कसैलाई पनि छाडिन्न । मैले सुरुबाटै चुहावट नियन्त्रण गर्नुपर्छ भनेर कर्मचारीलाई निर्देशन दिइरहेको छु ।’ निगमले एभिएसन तथा ग्यास विभाग प्रमुख दीपक बरालको संयोजकत्वमा मेकानिकल इन्जिनियर अशोक साह र लेखाअधिकृत श्यामकृष्ण महर्जन रहेको तीन सदस्यीय छानबिन टोली बनाएको छ ।