निलो स्टिकर भएको ट्यांकरको पानी मात्र पिउन योग्य

उपत्यकामा निलो स्टिकर पाउने १४ ट्यांकर मात्रै

184

नयाँ पत्रिक दैनिक असार ५,
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निलो स्टिकर पाएका ट्यांकरको पानी मात्र पिउन योग्य रहेको जनाएको छ । उपत्यकामा निलो स्टिकर पाउने १४ ट्यांकर मात्रै रहेको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ ।

ट्यांकरको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । समितिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५ सय ५१ ट्यांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्यांकरलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्यांकर ४ सय ८७ छन् । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानी

ट्यांकरलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्यांकर ५० रहेको बोर्डले जनाएको छ । वर्षामा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्यांकरको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौं भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिन सकिने जनाइएको छ । रासस