Sunday, September 27, 2026
Home पत्रपत्रिका निलो स्टिकर भएको ट्यांकरको पानी मात्र पिउन योग्य

निलो स्टिकर भएको ट्यांकरको पानी मात्र पिउन योग्य

उपत्यकामा निलो स्टिकर पाउने १४ ट्यांकर मात्रै

195

नयाँ पत्रिक दैनिक असार ५,
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले निलो स्टिकर पाएका ट्यांकरको पानी मात्र पिउन योग्य रहेको जनाएको छ । उपत्यकामा निलो स्टिकर पाउने १४ ट्यांकर मात्रै रहेको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए । वर्षामा खानेपानीका स्रोतबाट आउने पानी धमिलो हुने गरेकाले कतिपय उपभोक्ताले ट्यांकरको पानी पिउन प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले सचेत हुन बोर्डले आह्वान गरेको छ ।

ट्यांकरको पानीको गुणस्तरीयता जाँच र मूल्य निर्धारणका लागि बोर्डको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको थियो । समितिमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि सदस्य छन् । समिति गठन भएपछि ५ सय ५१ ट्यांकरलाई स्टिकर बाँडिएको बोर्डका कार्यकारी निर्देशक राणाले बताए । घरायसी प्रयोजन अर्थात् नुहाउन र कपडा धुन मात्र प्रयोग गर्न सकिने पानी बोक्ने ट्यांकरलाई हरियो स्टिकर दिइएको छ । यस्ता ट्यांकर ४ सय ८७ छन् । निर्माण र बगैँचामा सिँचाइका लागि मात्र प्रयोग गर्न सकिने पानी

ट्यांकरलाई पहेँलो स्टिकर दिइएको छ । यस्ता ट्यांकर ५० रहेको बोर्डले जनाएको छ । वर्षामा पानीकै कारण विभिन्न सरुवा रोगको प्रकोप बढ्ने भएकाले बोर्डले दिएको स्टिकरको रङ हेरेर मात्र पानीको उपभोग गर्न बोर्डले अनुरोध गरेको छ । ट्यांकरको पानीसम्बन्धी विस्तृत जानकारीका लागि बोर्डको मोबाइल एप्स ‘काठमाडौं भ्याली इन्फरमेसन सिस्टम’ डाउनलोड गरी थप जानकारी लिन सकिने जनाइएको छ । रासस