Tuesday, September 22, 2026
Home पत्रपत्रिका स्थानीय तहमा बेथितीः सडक छैन, गाडी किन्न हतार

स्थानीय तहमा बेथितीः सडक छैन, गाडी किन्न हतार

75

अन्नपूर्ण पोष्ट दैनिक/अनिष विष्ट
फागुन ६, खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन। ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्र्याक मात्रै खोलिएको छ। यो कच्ची बाटोमा हिउँदका केही महिना मुस्किलले गाडी कुद्छन्। गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कर्पियो गाडी खरिद गरेको छ। चारवटा मोटरसाइकल किनेको छ। ‘गाउँपालिकाभरिको त कुरै छाडौं, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन’, भोटखोला–३ का वाङदावी भोटेले भने, ‘तर, जनप्रतिनिधिले गाउँपालिकालाई आर्थिक बोझ थोपरेर गाडी र मोटरसाइकल खरिद गरेका छन्। सडक नभएको ठाउँमा कहाँ कुदाउन गाडी चाहिएको हो भन्ने स्पष्ट पार्न सकेका छैनन्।’

हिउँदका केही महिना मात्र चल्ने सडक भएको ठाउँमा गाडी खरिद गर्न जनप्रतिनिधिले हतारो गरेको उनको भनाइ छ। ‘सुविधाभोगी भएर जनप्रतिनिधिले गाडी किन्दा खर्च बढिरहेको छ’, उनले भने, ‘गाउँमा राम्रो गोरेटो पनि नहुँदा सर्वसाधारण भने अप्ठेरो ठाउँबाट जोखिम मोलेर हिँड्न वाध्य छन्। ’गाडी र मोटरसाइकल जिल्ला सदरमुकाम खाँदबारीमै राखिएको छ।

‘गाउँपालिकासँग चारवटा मोटरसाइकल छन्’, सूचना अधिकारी दावा लामाले भने, ‘सडक अभावमा लैजान नसक्दा सदरमुकाममै राखिएको हो।’ सदरमुकाममा जसले पायो त्यसले कुदाउने गरेको भोटेको भनाइ छ। वडाले पनि मोटरसाइकल खरिद गरेको सुन्दा अचम्म लागेको उनले बताए। ‘सडक नभएका ठाउँमा कुन प्रयोजनका लागि गाडी किनियो भनेर जनताले प्रश्न गरिरहेका छन्’, साबिक हटिया गाविसका पूर्वअध्यक्ष भोटेले भने, ‘सडकबिना सवारी साधन किनेर बजेट दुरूपयोग गरेका जनप्रतिनिधिले यसको जवाफ दिनुपर्छ।’