मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ

168

चैत २,
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र साधन भएर मात्र मुलुकको विकास हुँदैन, नीति, आचरण र परिश्रम आवश्यक छ,” उहाँले भन्नुभयो । नेता महतले काङ्ग्रेसले शुरुदेखि नै समाजवाद उन्मुख अर्थ व्यवस्थालाई अगाडि सारेको बताउँदै सीपको विकास गरेर युवालाई रोजगारीमा लगाउनु अहिले मुलुकको आवश्यकता रहेको उल्लेख गर्नुभयो । पूर्वअर्थमन्त्री डा महतले उदार अर्थव्यवस्थाका कारण मुलुक अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । हरेक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढ्नु मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको उहाँको भनाइ छ । कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले दुई तिहाइ जनमत पाएको सरकारले आर्थिक विकासको क्षेत्रमा ठोस काम गर्न नसकेको बताउनुभयो । “अर्थ मन्त्रालयको नियन्त्रणमा नेपाल राष्ट्र बैंकलाई राखेर बैंक तथा वित्तीय संस्थालाई धरासयी बनाउन खोजिँदैछ,” उहाँले भन्नुभयो । सुशील कोइराला नेतृत्वको सरकारले गरेको लगानी सम्मेलनलाई कार्यान्वयन गर्नतर्फ सरकार लाग्नुपर्नेमा नयाँ लगानी सम्मेलन गर्न सरकार लागेको उहाँको भनाइ थियो । रासस