राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

82

माघ १७, काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक,२०७५ संघीय संसद राष्ट्रियसभाबाट पनि पारित भएको छ।  राष्ट्रियसभाको बिहीबार बसेको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा पुगेको उक्त विधेयकलाई बहुमतले पारित गरेहको हो।  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विधेयकलाई बहुमतबाट पारित भएको घोषणा गरेका हुन्। राष्ट्रियसभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई प्रतिनिधिसभाको सन्देशसहित पारित गर्नका लागि प्रस्तुत गरेका थिए।  उक्त विधेयकमा राष्ट्रियभामा तीन संशोधन परेका थिए। राजपाका वृशेषचन्द्र लाल र कांग्रेसका सांसदहरू सरिता प्रसाइँ, प्रकाश मल्ल,बद्रीप्रसाद पाण्डे र राधेश्याम अधिकारीले संशोधन हालेका थिए। उनीहरूले सरकार र डा. गोविन्द केसीबीच उनको १५औँ अनशन तोड्ने बेला भएका सहमतिका बुँदा, जो विधेयकमा समेटिएका थिएनन्, लाई संशोधनमार्फत विधेयकमा राख्न संशोधन राखेका थिए।  तर, तीनवटै संशोधन बहुमतले अस्वीकृत भएका थिए।  राष्ट्रियसभाको अर्को बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको छ।